यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषतामा YoSHAN को मान्यता
बद्लिँदो सामाजिक परिवेश र सिमान्कृत समुदाय, समूह तथा वर्गहरूले आफ्नो हक अधिकारका निम्ति आवाज उठाउँदै गर्दा सामाजिक रूपमा स्वीकार्यत नरहेका लैङ्गिक तथा यौनिक विविधताका समूहहरूको पनि आवाज उत्तिकै बुलन्द हुँदै गएको छ । त्यसै गरी सामाजिक मान्यता भन्दा पर लैङ्गिक तथा यौनिक विविधताहरूलाई समावेश गर्ने र लाञ्छनाबाट मुक्त गर्ने मूल्य मान्यताहरू अपनाउनु आजको आवश्यकता हो ।
त्यसैले अन्तर्राष्ट्रिय मूल्य मान्यताहरू सहित लैङ्गिक तथा यौनिक विविधतालाई स्पष्ट बुझाउने “यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता (Sexual Orientation, Gender Identity and Sex Characteristics)”को अवधारणामा हाम्रो बुझाईलाई अझै स्पष्ट पार्न र नेपालका राष्ट्रिय तहमै लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी कार्यरत संघसंस्थाहरूले समेत जारी गरेको मूल्य मान्यताहरूलाई मध्यनजरमा राखी यस संस्थाले यो दस्तावेज जारी गरेको छ।
यो दस्तावेजका मूल्य मान्यताहरू समसामायिक अन्तर्राष्ट्रिय सिद्दान्तहरूद्वारा प्रतिपादित र राष्ट्रिय तहमा पनि प्रयोग हुँदै आएका मूल्य मान्यताहरू हुन् । समयको परिवर्तनशीलतामा संसारको जुनसुकै विषय जस्तै यी अवधारणाहरू थप परिमार्जित र विकसित हुँदै जाने र समसामायिकतालाई ध्यानमा राखी हामी पनि परिमार्जित हुनुपर्नेमा जोड दिँदै यस संस्थाको कार्यक्षेत्रमा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता यो दस्तावेज जारी गरिएको हो।
अवधारणागत बुझाई
यौन विशेषता (Sex characteristics) : यौन विशेषता भन्नाले मानिसको यौनाङ्ग वा प्रजनन अङ्गबाट छुट्टिने शारीरिकी भिन्नता हो ।
अन्तर्लिङ्गी (Intersex) : पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अन्तर्लिङ्गी व्यक्ति भनिन्छ । अन्तर्लिङ्गी हुनु यौन विशेषताको विषय हो । अन्तर्लिङ्गी व्यक्तिहरू आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनी पहिचान गर्न सक्छन् । अन्तर्लिङ्गी व्यक्तिहरू विषमयौनिक, समयौनिक, द्वियौनिक, सर्वयौनिक, अयौनिक, इत्यादी यौन अभिमुखिकरणका हुन सक्छन् ।
कुनै व्यक्ति अन्तर्लिङ्गी होइन, वा पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा अटाउने यौन विशेषताहरू छन् भने आन्तर्लिङ्गी (Endosex) पनि भनिन्छ ।
जन्मँदा यौनाङ्गको आधारमा इङ्गित गरिएको लिंग (Sex assigned at birth) भन्नाले सामाजिक मूल्य मान्यता अनुसार कुनै बच्चा जन्मन बित्तिकै नीजको यौन अङ्ग वा विशेषताको आधारमा नीजलाई केटा वा केटी भनेर गरिने निर्धारण भनी सम्झनुपर्छ ।
जन्मँदा पुलिङ्गी इङ्गित गरिएका व्यक्ति (Assigned male at birth) भन्नाले कुनै बच्चा जन्मन बित्तिकै नीजको यौनाङ्ग शिश्न (Penis) भएको आधारमा नीजलाई केटा / पुरुष भनी गरिएको निर्धारण भनी सम्झनु पर्छ ।
जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्ति (Assigned female at birth) भन्नाले कुनै बच्चा जन्मन बित्तिकै नीजको यौनाङ्ग योनी (Vagina) भएको आधारमा नीजलाई केटी / महिला भनी गरिएको निर्धारण भनी सम्झनु पर्छ ।
लैङ्गिक पहिचान (Gender identity) : लैङ्गिक पहिचान भन्नाले हरेक व्यक्तिको भित्री मन वा अन्तरात्माबाट लैङ्गिकता सम्बन्धी आएको व्यक्तिगत अनुभूती र अनुभव एवं भित्री मनबाट आएको आन्तरिक बोध र नीजले त्यसलाई गर्ने प्रस्तुतीकरण तथा आफ्नो लैङ्गिकता चिनाउन प्रयोग गर्ने शब्दवाली हो ।
त्याचलैङ्गिक / त्याचलिङ्गी व्यक्ति (Cisgender person) : जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल खाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू । त्याचलिङ्गी र पारलिङ्गी विपरीतार्थी शब्द हुन् । “त्याचलिङ्गी” शब्दको अभावमा “यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल खाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू” लाई मात्र सामान्य (normal) वा सामान्य लिङ्गका व्यक्ति (normal gender) भनिने गरिन्थ्यो जसकारण अरु लैङ्गिक पहिचानका व्यक्तिहरूलाई असामान्यकरण (abnormalization) भयो । हाम्रो समाजले यस प्रकृतिका मानिसहरूलाई मात्र “सामान्य” मान्ने सामाजिक भाष्यलाई तोड्दै, सबै लैङ्गिक पहिचानहरू सामान्य हुन् भन्ने भाष्य कायम गर्न यो शब्दको उत्पत्ती भएको हो । कुनै पनि व्यक्ति जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको र लैङ्गिक पहिचान पुरुष हो भने ऊ त्याचलिङ्गी पुरुष ( cisgender man / cisman ) र कुनै पनि व्यक्ति जसको जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको र लैङ्गिक पहिचान महिला हो भने ऊ त्याचलिङ्गी महिला ( cisgender woman / ciswoman ) भनिन्छ ।
पारलैङ्गिक / पारलिङ्गी व्यक्ति (Transgender person) : जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू । पारलिङ्गी पुरुष (Transgender Male / Transman ) भन्नाले पुरुष लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलिङ्गी पुरुषहरू जन्मदाँ स्त्रीलिङ्गी इङ्गित गरिएका हुन्छन् । योनी लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटी वा बालिका भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटा वा पुरुषको गुण विकास हुन्छ र आफूलाई पुरुष भनी पहिचान गर्दछन् । पारलिङ्गी महिला (Transgender Female / Transwoman ) भन्नाले महिला लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलिङ्गी महिलाहरू जन्मदाँ पुलिङ्गी इङ्गित गरिएका हुन्छन् । शिश्न लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटा वा बालक भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटी वा महिलाको गुण विकास हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन् । अङ्ग्रेजीमा यसलाई Men of trans experience वा Women of trans experience पनि भनिन्छ ।
विविध लैङ्गिक व्यक्ति (Gender diverse person) : महिला र पुरुषको लैङ्गिकता बाहेकका विविध लैङ्गिक पहिचानहरूलाई जनाउने शब्द ।
गैर-द्वयसांखिक लैङ्गिक पहिचान ( Non-binary gender identities ) : पुरुष वा महिलाको परिभाषामा नअटाउने र पुरुष वा महिलाको अभिव्यक्ति अन्तर्गत नपर्ने लैङ्गिक पहिचानहरूलाई गैर-द्वयसांखिक लैङ्गिक पहिचान भनिन्छ । पारम्पारिक लैङ्गिक भिन्नता सँग सम्बन्धित नरहेका र महिला वा पुरुष लैङ्गिकता दुबै नरहेको, दुबै रहेको वा मिश्रण जनाउने लैङ्गिक पहिचानहरूको विविधतलाई गैर-द्वयसांखिक भनिन्छ ।
गैर-द्वयसांखिक लैङ्गिक पहिचान अन्तर्गत पनि डाइनामिक हिसाबले विविध लैङ्गिक पहिचानहरू हुन्छन् । यस समबन्धीका पहिचान र भाषाहरू विकासोन्मुख अवस्थामै नै रहिरहेको छ ।
तेस्रोलिङ्गी (Third Gender) : दक्षिण एसियाली हिन्दू र मुश्लीम संस्कृति समाजमा आफूलाई महिला वा पुरुषको परिभाषामा नराख्ने आफ्नो छुट्टै समाज, संस्कार, रीतिरिवाज र रहन सहन भएको विभिन्न समुदायहरू छन् । सामाजिक मूल्य मान्यता अनुसार तेस्रोलिङ्गी व्यक्तिहरूलाई अलौकिक मानिन्छ र उनीहरूले दिएको आशिर्वाद र श्राप लाग्दछ भन्ने मान्यता समेत रहेको र उनीहरू कुनै सुखद अवशर जस्तै विवाह, नवजन्म शिशु, इत्यादीमा नाच गान गर्ने, आशिर्वाद दिने परम्परागत पेशा पनि गर्दछन् । कतिपय तेस्रोलिङ्गी समुदायहरूको लामो इतिहास नै छ, उनीहरूको छुट्टै स्थानमा समुदायगत बसोबास हुन्छ र आफ्नो समुदायमा कोही भित्रन चाहेमा, समुदायमा भित्री सकेपछी, समुदायमा कसैको मृत्यु हुँदा र कतिपय अवस्थामा समुदायको आफ्नै छुट्टै भाषा वा भाषिका समेत हुने गर्दछ । दक्षिण एसियामा हेर्दा यी तेस्रोलिङ्गी समुदायहरू हिजडा, किन्नर, मंगलामुखी, पावैया, ख्वाजासिरा, खुस्रा, खसुआ, अरवानी, इत्यादी हुन्छन् भने नेपालमा मेटी, कोथी, घाँडे, मौगियाह, मैंबाबु, फुलुमुलु, फोलोक मोलोक, इत्यादी हुन्छन् ।
तेस्रोलिङ्गी भन्नाले परम्परागत धारणा पनि हो । यो धारणा समसमायिक रूपमा सबैलाई सान्दर्भिक नहुन सक्छ । परम्परागत जीवनशैलीसँग जोडिएको हुनाले अहिलेको युगमा यसको व्यपकता वा सान्दर्भिकता नहुन पनि सक्छ । तेस्रोलिङ्गी शब्दलाई हाम्रो समाजले नस्वीकारेको वा नबुझेको सबै लैङ्गिक पहिचानहरूलाई समेटेर इङ्गित गर्नका निम्ति प्रयोग गर्नु मिल्दैन । कतिपय, विशेष गरी युवा पुस्ताका मानिसहरू तेस्रोलिङ्गी शब्दको विभेदकारी किसिममा आलोचना पनि गर्छन् । समयको आवश्यकता अनुसार अनेकौँ लैङ्गिक पहिचानका शब्दहरू विकास भएर मानिसहरू आफूलाई परिचित गर्दै खुलेर आएको अवस्थामा तेस्रोलिङ्गी शब्दले सबैलाई जनाउँछ भन्ने गलत धारणा राख्नुहुँदैन ।
यौन अभिमुखिकरण (Sexual orientation) : कुनै व्यक्ति कुन लैङ्गिकताका अरु व्यक्तिहरू तर्फ यौन तथा प्रणयात्मक (sexual and romantic) आकर्षण महसुस गर्दछ भन्ने आधारमा नीजको यौनिक पहिचानलाई यौन अभिमुखिकरण भनिन्छ ।
विषमयौनिक (Heterosexual/Straight) : आफू भन्दा फरक लैङ्गिकता प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्ने व्यक्ति
समयौनिक (Homosexual) : आफू जस्तै / उस्तै लैङ्गिकता प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्ने व्यक्ति (समयौनिक पुरुष : Gay, समयौनिक महिला : Lesbian)
द्वियौनिक (Bisexual) : आफू भन्दा फरक लैङ्गिकता र आफू जस्तै लैङ्गिकता दुबै प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्ने व्यक्ति
सर्वयौनिक (Pansexual) : सबै खाले लैङ्गिकता प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्ने व्यक्ति वा यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्न लैङ्गिकता बाधा नपर्ने व्यक्ति
अयौनिक (Asexual) : कुनै प्रकारको यौन तथा/वा प्रणयात्मक आकर्षण महसुस नगर्ने व्यक्ति
यौन अभिमुखिकरणको हकमा अधिकांश यी शब्दहरू प्रयोग हुने भएतापनि, यौन अभिमुखिकरण यतिमा मात्र सीमित छैन । यी अतिरिक्त पनि अनेकौँ शब्दहरूद्वारा मानिसहरूले आफूलाई परिचित गराउँछन् । यौनिकता सम्बन्धीको भाषा पनि विशाल र विकासोन्मुख छ । त्यसैले यौन अभिमुखिकरणलाई यतिमै सीमित राखी व्याकख्या गर्नु उपयुक्त छैन ।
क्वयेर (Queer) : एउटा छाता शब्द जसले हाम्रो सामाजिक मूल्य मान्यतामा नस्वीकारिएका, उत्पीडन र सिमान्तिकरणमा पारिएका यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताहरूको विविधतालाई जनाउँछ । यस अर्थ परम्परागत पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरको परिभाषामा नपर्ने विविध यौन विशेषता भएका व्यक्तिहरू, जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल खाने लैङ्गिक पहिचान नभएका लैङ्गिक विविधताका व्यक्तिहरू र महिला-पुरुष बीच हुने यौन तथा प्रणयात्मक आकर्षण भन्दा परका विविध यौन अभिमुखिकरणका व्यक्तिहरूलाई जनाउने व्यापक शब्द हो । अन्तर्लिङ्गी यौन विशेषताका विविधताहरू, त्याचलिङ्गी बाहेकका लैङ्गिक पहिचानहरू र विषमयौनिक बाहेकका यौन अभिमुखिकरणहरूलाई बुझाउने छाता शब्द ‘क्वयेर’ हो ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (Gender and Sexual Minorities) : नेपालको संविधानमा क्वयेर व्यक्तिहरूलाई जनाउन प्रयोग गरिएको शब्दावली ।
सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति (People of Marginalized Sexual Orientation, Gender Identity and Sex Characteristics) : क्वयेर जनसंख्यालाई अर्को भाषामा यसरी पनि बुझाउन सकिन्छ । यो शब्दावलीले सामाजिक उत्पीडन र सिमान्तिकरणलाई केन्द्रमा राख्छ ।
SOGISEC (सोजिसेक्) – Sexual Orientation, Gender Identity and Sex Characteristics
PoMSOGIESEC (पोम् – सोजिसेक्) – People of Marginalized Sexual Orientation, Gender Identity and Sex Characteristics
यौभिकयौता – यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
MOGAI (मग्गी) – Marginalized Orientations (Sexual/Romantic), Gender Alignments (Identities and Expressions) and Intersex variations
सिभिलैलि – सिमान्कृत अभिमुखिकरणहरू (यौन तथा प्रणयात्मक), लैङ्गिक पहिचान तथा प्रस्तुतीकरण र अन्तर्लिङ्गी विविधताहरू