You are currently viewing महामारीको बेला सुरक्षित गर्भपतन सेवा

महामारीको बेला सुरक्षित गर्भपतन सेवा

संयुक्त राष्ट्र संघले सन् २०१९ मा प्रकाशन गरेको एक प्रतिबेदन अनुसार, हरेक चार गर्भहरु मध्ये एक गर्भ अनिच्छित रहेको पाइएको छ । अनिच्छित गर्भका विभिन्न कारणहरु हुन सक्छन् जस्तै, बलात्कार, गर्भ निरोधकको असफलता, गर्भनिरोधक साधनहरु उपलब्ध नहुनु, सुचनाको कमी, आदि । अनिच्छित गर्भले, व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ र अझ डरलाग्दो, उक्त व्यक्तिले असुरक्षित गर्भपतनको बाटो पनि रोज्न सक्छ जुन निकै जोखिमपूर्ण हुन्छ ।

असुरक्षित गर्भपतनले व्यक्तिको ज्यान समेत लिन सक्छ र एकदमै जोखिमपूर्ण हुन्छ भने सुरक्षित गर्भपतन निकै नै सुरक्षित हुन्छ र यसमा अति न्युन जोखिम हुन्छ । विस्व स्वास्थ्य संगठनका अनुसार चिकित्सा प्रक्रियाहरुमध्ये एक सुरक्षित प्रक्रिया अन्तर्गत सुरक्षित गर्भपतन पनि पर्दछ

कोरोना भाइरसलाई नियन्त्रण गर्न गरिएको बिश्वब्यापी लकडाउनका कारणले घरेलु हिँसा बढ्नाका साथसाथै गर्भ निरोधक साधनको पहुँच पनि निकै घटेको छ, जसले गर्दा अनिच्छित गर्भ धेरै संख्यामा बढ्ने देखिन्छ । अबको केहि महिनामा त बिश्वभरि ७० लाख अनिच्छित गर्भ रहन सक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ । महामारीको बेला पनि व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्य आवश्यकता उति नै हुन्छ । त्यसकारण यस्तो बेलामा त सरकारले झन् बढी यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा ध्यान पुर्याउनुपर्छ जस अन्तर्गत गर्भनिरोधक सम्बन्धि सेवा, सुरक्षित गर्भपतनको सेवा, HIV र यौन रोग सम्बन्धि सेवा लगायत अन्य सेवाहरु पर्दछन् । 

सुरक्षित गर्भपतन सेवा, तपाइले आफु नजिकैको सुरक्षित गर्भपतन सेवा केन्द्रमा लिन सक्नु हुन्छ जहाँ यस्तो लोगो पाउनसक्नु हुनेछ:

नेपालमा सुचिकृत सुरक्षित गर्भपतन सेवा केन्द्रमा पाइने लोगो

जिल्ला अस्पताल, निजि अस्पताल र क्लिनिक लगायत मेरी स्टोप्स र नेपाल परिवार नियोजन संघको क्लिनिकमा पनि सुरक्षित गर्भपतनको सेवा उपलब्ध छ जहाँ माथिको जस्तो लोगो टाँसिएको हुन्छ र सो सेवाका लागि यी संस्थाहरुलाई सम्पर्क गर्न सकिनेछ ।

नेपाल परिवार नियोजन संघको हेल्पलाइन नम्बर : 16600145000

मेरी स्टोप्स नेपालद्वारा संचालित मेरी साथी हेल्पलाइन नम्बर : 16600119756 (NTC) and 9801119756 (Ncell)

यसका साथ साथै उक्त सेवा केन्द्रमा, नेपाल सरकारको अनुमति पत्र र स्वास्थ्य प्रदायकको प्रमाणपत्र पनि पाउन सक्नुहुन्छ । सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा, यो सेवा नि:शुल्क उपलब्ध हुन्छ भने निजि अस्पताल लगाएत अन्य क्लिनिकहरुमा भने केहि शुल्क लाग्छ ।

मुलुकी ऐनको एघारौँ संशोधनका साथै, वि. स. २०५९ सालमा नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता प्राप्त गर्यो। सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार निम्न लिखित अवस्थामा व्यक्तिले सुरक्षित गर्भपतनको सेवा उपभोग गर्न पाउँछन् :

क) गर्भवती महिलाको मंजुरीले बाह्र हप्तासम्मको गर्भ,

(ख) गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भने इजाजत प्राप्त चिकित्सकको राय अनुसार उक्त महिलाको मन्जुरी बमोजिम अठ्ठाईस हप्तासम्मको गर्भ,

(ग) जबर्जस्ति करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, गर्भवती महिलाको मंजुरीले अठ्ठाईस हप्तासम्मको गर्भ,

(घ) रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच।आई।भी।) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ,

(ङ) भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था छ भने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ ।

बच्चा जन्माउने कि नजन्माउने र कति ओटा जन्माउने भनेर निर्णय लिन पाउनु व्यक्तिको मानव अधिकार हो र यसै अन्तर्गत गर्भपतनको अधिकार पनि पर्दछ । गर्भपतनको सेवा पहुँच गर्न जाँदा कसैलाई जात, धर्म, लैंगिकता, यौन अभिमुखीकरण, उमेर, बैवाहिक स्थिति, भाषा आदिका आधारमा भेदभाब गर्न पाइन्दैन र साथै सेवाग्राहीको गोपनियताको पनि सम्मान गर्नुपर्छ । आत्मसम्मानका साथ लान्छनामुक्त सुरक्षित गर्भपतन सेवा उपभोग गर्न पाउनु हामी सबैको अधिकार हो ।

Pushpa Joshi Pushpa Joshi is co-founder of YoSHAN and also a youth champion at Asia Safe Abortion Partnership. She is a young feminist activist working on Sexual and Reproductive health rights. Twitter: @Pushpajoshi23